एक्लो जिवन बिताइरहेका महिलाहरुका लागि सायद यो खुसीको कुरा हुनसक्छ । किनकी सरकार आफैले एक घण्टाका लागि केटा उपलब्ध गराइदिने भएको छ ।
समाचार सुन्दा तरंगित हुनुभयो होला, तर हुनु पर्दैन । किनकी यो सेवा नेपालमा होइन रुसको राजधानी मस्कोमा सुरु हुन लागेको हो ।
घरमा साह्रो गाह्रो काम गर्ने लोग्ने मान्छेको अभावमा मुस्किल झेलिरहेका महिलाहरुको लागि लक्षित गर्दै मस्को नगर प्रशासनले ‘एक घण्टाका लागि श्रीमान’ सेवा सुरु गर्न लागेको मस्को टाइम्सले जनाएको छ ।
सिटी हलको सामाजिक सुरक्षा विभागका उपप्रमुख आन्द्रे बेस्तान्कोका अनुसार यसरी भाडामा लिइएका ‘लोग्ने’ ले सम्बन्धित महिलाको घरमा पुगेर पुरुषले गर्ने भनेर परम्परागत रुपमा छुट्टाइएका विभिन्न साह्रोगाह्रो कामहरु गरिदिनेछन् । जस्तै चुहेको पाइप मर्मत गरिदिने, सिलिङ ठोकिदिने, पेच कसिदिने आदि ।
हुनत मस्कोमा यसअघि पनि विभिन्न खाले निजि कम्पनीहरुले यस्तै मिल्दोजुल्दो सेवा उपलब्ध गराउने गरेका छन् । तर त्यसका लागि चर्को शुल्क लिन्छन् । निजि कम्पनीहरुले भाडामा लोग्ने मिलाइदिने सेवामा युवतीहरुलाई बढि लक्षित गरिएको छ र त्यस्ता भाडाका लोग्नेहरुलाई उनीहरुले यौन सन्तुष्टिका लागि समेत उपयोग गर्न सक्छन् ।
तर मस्को प्रशासनले सरकारी तबरमा सुरु गर्न लागेको पछिल्लो सेवा भने सेवा खासगरी ६० वर्ष नाघेका महिलाहरुका लागि लक्षित हुनेछ । न्युन आय भएका परिवारका लागि सित्तैमा उपलब्ध हुनेछ । मध्यम आयस्तरका परिवारले भने न्यून शुल्क तिरे पुग्नेछ । आफुलाई भाडामा एकघण्टे लोग्ने चाहिएको भनेर माग गरे लगत्तै सरकारले स्थानीय कम्पनीहरुसँग सहकार्य गरी सिपालु तथा सुन्दर र कामकाजी युवाहरुलाई महिलाको घरमा पठाइदिनेछ । काम फत्ते गरेपछि युवक आफ्नो घरमा फर्किनेछ ।
रुसमा पुरुषको औषत आयु महिलाको भन्दा निकै कम भएको हुँदा धेरै वृद्धाहरुले विधवाको रुपमा एकल जिवन बिताइरहेका छन् । घरमा लोग्ने मान्छे नहुँदा र परिवारका अन्य सदस्यहरु समेत साथमा नहुँदा उनीहरुको दैनिकी कष्टकर बनेको छ । सोही कुरालाई मध्यनजर राख्दै सरकारले यस्तो सामाजिक सुरक्षाको कार्यक्रम अघि सारेको हो ।